हाम्रो संस्था संचालन भएकाे छाेटाे अवधिमा नै सन्तोषजनक प्रगती हासिल गर्न
सफल भएको शेयरसदस्यहरु महानुभावहरु समक्ष जानकारी गराउन पाउँदा मलाई
अत्यन्तै खुसि लागेको छ । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका
सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई
प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विभिन्न किसिमका
विनियमावलीहरु र कार्यविधिहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च
प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना
अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो
प्रमुख विशेषता हो ।
संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले
विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि
सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने,
बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी
कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन
लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न विनियमावलीहरु र वार्षिक
कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा
संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको
बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा
कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत
बृद्धि गर्दै लगिएको व्यहोरा अवगत गराउन चाहन्छु ।